मेलम्ची, २४ फागुन । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।
करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण गरिएको छ । भवनमा अध्यागमन, भन्सार, बैंक लगायतका कार्यालय रहनेछन् । दोस्रो भवन कर्मचारीको आवास हुनेछ ।
मितेरी पुलदेखि छ किलोमिटर पश्चिम भोटेकोशी गाउँपालिकाको लार्चामा बनिरहेको बन्दरगाहमा १५८ ठूला मालवाहक ट्रक र २३ साना गाडी जाँच गर्न सकिने छ । १०० मेट्रिकटनसम्म सामान बोकेका गाडी एकै पटक तौलिन सक्ने मेसिन राखिने समितिले जनाएको छ । बन्दरगाहमा आयात र निर्यातका लागि छुट्ठाछुट्टै टर्मिनल निर्माण गरिएको छ ।
बन्दगाहका लागि आवश्यक क्वारेनटाइन, गोदाम घर, जाँचपास याड, चेकपोष्टलगायतका संरचना निर्माण भइरहेका छन् ।
अरनिको राजमार्गबाट बन्दरगाह जोड्नका लागि भोटेकोशी नदीमाथि पुल निर्माण भइरहेको छ । नेपाल–चीन द्विपक्षीय सम्झौता भएर विसं २०६९ बाट निर्माण शुरु गरिएको बन्दरगाह विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि रोकिएको थियो ।
चीन सरकारको रु एक अर्ब २० करोड लागतमा निर्माण हुनलागेको हो । चिनियाँ सरकारकै सहयोगमा मितेरी पुलदेखि बन्दरगाहसम्मको सडक स्तरोन्नति भइरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल धमाधम निर्माण भइरहेको छ । योसँगै तातोपानी नाका खुल्ने सुनिश्चित भएको छ । द्विपक्षीय छलफलले मे १ मा नाका खोल्ने मौखिक सहमतिसमेत गरेको छ ।