
धनकुटा, ९ फागुन । धनकुटाको सहिदभूमी गाउँपालिकाले डिजिटल नागरिक बडापत्र राखेको छ । सवै स्थानीय तहमा डिजिटल बडापत्र राख्ने सरकारी निर्णय अनुसार जिल्लामै पहिलो पटक डिजिटल बडापत्र राखिएको सहिदभूमी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाको जानकारी, लाग्ने दस्तुर र आवश्यक कागजात लगायत बिषय डिजिटल बडापत्रमा देखाईन्छ । माउस र किबोर्डको सहायताले यसलाई चलाउँन सकिने वा स्वचालित रुपमा क्रमिक आफै देखिने गरी बडापत्र राखिएको आईटी अफिसर विकल्प कार्कीले बताए ।
यसअघि भित्तामा लेखेर नागरिक बडापत्र राख्ने चलन थियो । तर, भित्तामा लेख्ने पर्याप्त र उपयुक्त ठाउँ नहुँदा यो माध्यम एकदमै सरल र जनतालाई पनि सहज हुँने गाउँपालिका प्रमुख मनोज राईको भनाई छ ।















