
विराटनगर, १३ माघ । टिपरको ठक्करपछि वालिकाको मृत्यूको बिषयलाई लिएर आक्रोसित बनेका स्थानीयले आधा दर्जन टिपरमा लगातार आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ ।
घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
उनले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको जानकारी दिए । निषेधाज्ञाका वावजुद स्थानीयले मृतक वालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेको जनाइएको छ ।
आधा दर्जन टिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समिति मोरङ आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ । स्थिति तनाबग्रस्त हुँदै गए कर्फ्यू आदेशसमेत जारी गर्नेबारे समेत छलफल भइसकेको सुरक्षा श्रोतले जनाएको छ ।
निषेधाज्ञाको सूचना गराइएपनि स्थानीयले प्रदर्शनलाई भने जारी नै राखेका छन् । उनीहरुले स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा सडकमा सयौंको संख्यामा टिपर चल्ने गरेको भन्दै टिपर आतंक रोकिनु पर्ने बताए ।
सोमबार विहान ना३ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सुन्दरहरैंचा नगरपालिका–९ की ११ वर्षीया लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले उक्त सडक खण्डमा गुडिरहेका अन्य टिपरहरुलाई समेत रोकेर आगजनी गरेका थिए ।

















