धनकुटा, १२ माघ । बैदेशिक रोजगारीमा गएका पुरुष घर फर्किएर सम्बन्ध बिच्छेद गर्ने क्रम धनकुटामा बढ्दै गएको छ । नयाँ मुलुकी ऐन आएसंगै यस्तो प्रविद्धि बढ्दै गएको जिल्ला अदालत धनकुटाले जनाएको छ ।
जिल्ला अदालतका अनुसार विगत छ महिनाको अवधिमा पुरुष बादि भएर सम्बन्ध विच्छेदका लागि १६ मुद्दा दर्ता गरेका छन् । जिल्ला अदालतमा विगत बर्षदेखि सम्बन्ध विच्छेदका मुद्दा दोब्बर बढेको अदालतको तथ्यांक छ ।
गतबर्ष ३४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालतमा यस आर्थिक बर्षको छ महिनाकै अवधिमा ७४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । दुई वर्ष अघि ५ वटा मात्र सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
छ महिनाको अवधिमा पुरुष बादि भएका १६ ओटा र महिला बादि भएका ५८ मुद्दा दर्ता भएको जिल्ला न्यायधिस विनोद पोख्रेलले बताए । सम्बन्ध विच्छेद गर्नेमा १७ बर्ष उमेरदेखि ४१ बर्षसम्मका छन् । बैदेशिक रोजगारीबाट फर्किएका, अन्तरजातिय विवाह, बालविवाह, पारीवारीक बेमेल कारण देखाएर सम्बन्ध विच्छेद हुने गरेको छ ।
सानै उमेरमा विवाह गरी युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले व्यवहारीक कठिनाई भएको भन्दै शहरमा डेरा गरी बस्ने एवं परपुरुषसंग सम्पर्क हुने, विदेशमा पतिले कमाएको सम्पती जथाभावि खर्च गरेको तथा परिवारसंग बेमेल भएको वयान गर्दै सम्बन्ध विच्छेद गर्नेको संख्या बढि रहेको अदालत स्रोतको भनाई छ ।
यता परीवारको स्वीकृती बिना विवाह गरी घरपरिवारमा बेमेल भएपछि रोजगारीको खोजिमा श्रीमती विदेशिने र श्रीमानले दोस्रो विवाह गरेर पहिलो सम्बन्ध विच्छेद गर्ने पनि पाईएको छ ।
परीवारको रोजाईमा बालविवाह गरेकासमेत युवा अवस्थामा पुगेपछि परीवारमा बेमेल भएको भन्दै महिलाले सम्बन्ध विच्छेद गर्ने गरेका छन । सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा सरकारी कर्मचारीसमेत रहेको जिल्ला अदालतले जनाएको छ ।