धनकुटा, ४ मंसिर । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकाडो महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर धनकुटा नगरपालिकाले आगामी ८ गते महोत्सवको आयोजना गर्ने जनाएको हो । दुई महिना अघि अमेरीकाको क्यालीफोर्नियामा एभोकाडोको विश्वको पहिलो महोत्सव भएको थियो ।
मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरि एभोकाडो खेती मार्फत कृषि पर्यटनलाई टेवा पुर्याउन महोत्सव आयोजना गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले जानकारी दिए ।
महोत्सवमा नगरपालिकामा हालसम्म जानकारी भएका २० वटा संस्थाका स्टल रहने धनकुटा नगरपालिकाले जनाएको छ । धनकुटा नगरपालिका क्षेत्रमा उत्पादन हुने स्वादिलो एभोकाडोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा चिनाउनु तथा एभोकाडोको व्यावसायिक खेती तर्फ कृषकलाई आकर्षित तथा प्रोत्साहित गर्नु रहेको राईले जानकारी दिए ।
महोत्सवमा एभोकाडोको फाइदा बारेमा उपभोक्तालाई जानकारी दिइनेछ । अहिले हरेक चीजमा विषादी प्रयोग हुनाले एभोकाडोमा कुनै पनि विषादी नहुनाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।
घिउफल भनेर समेत चिनिने एभोकाडोको अहिले धनकुटा नगरक्षेत्रमा २५ हजार विरुवा रहेको नगरपालिकाले जनाएको छ। जसमध्ये करिब १० हजार विरुवा फल दिने भएका छन। धनकुटामा हाल वार्षिक करिव २ लाख किलोग्राम एभोकाडो उत्पादन हुने गरेको छ। धनकुटा नगरपालिकाले एभोकाडो खेती गर्नेलाई टोकन वितरण गरेको छ।
महोत्सवमा प्रदर्शनमा राखिएका एभोकाडो मध्येबाट उत्कृष्ट कृषकलाई नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतको संयोजकत्वमा बनेको मुल्यांकन समितिको सिफारिसमा प्रथम, द्धितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँले पुरस्कृत गर्ने नगरपालिकाले जनाएको छ। त्यस्तै सान्त्वना हुने ३ जनालाई नगल ३ हजारका दरले पुरस्कृत गरिने महोत्सव तयारी समितिका संयोजक समेत रहेका राईले जानकारी दिए ।