काठमाडौं, ३ मङ्सिर। नेपालमा गरिने स्वास्थ्य परीक्षणको गुणस्तरीयताप्रति पटक-पटक प्रश्न उठाउँदै आएको कतारले अन्तत: आफ्नो देशमा जाने कामदारको स्वास्थ्य परीक्षण आफ्नै स्वास्थ्य संस्थामा गर्ने भएको छ।
खाडीका केही मुलुक तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल सरकारले केही स्वास्थ्य संस्थालाई अनुमति दिएको छ। तर कतारले भने कामदार लिंदै आएका स्रोत मुलुकमा कतारको स्वास्थ्य मन्त्रालय मातहत रहेर कामदारको स्वास्थ्य परीक्षण गर्ने,औठा छाप लिने तथा अभिमुखीकरण तालिम दिने संयन्त्र सहितको ‘भिसा सेन्टर’ स्थापना गर्न लागेको नेपाल स्थित कतारी दूतावासले जनाएको छ।
यसले नेपालमा र कतार पुगेपछि गर्नुपर्ने दोहोरो स्वास्थ्य परीक्षणको झन्झट बाट कामदारले मुक्ति पाउने दूतावासको विश्वास रहेकाे खबर अाजकाे नागरिक दैनिकमा छ।
नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले नागरिकन्युजसँग कुरा गर्दै भने, “नेपालमा स्वास्थ्य परीक्षण पास भनिएका कामदार त्यहाँ गर्ने स्वास्थ्य परीक्षणमा फेल भइरहेका छन्। कामदारको स्वास्थ्य परीक्षण गुणस्तरीय ढंगमा गर्न हामीले धेरै पल्ट आग्रह गर्यौ तर हाम्रो आग्रहलाई गम्भीर ढंगमा लिइएन। अब हामी नेपालमै कामदारको स्वास्थ्य परीक्षण गर्छौ।”