धनकुटा, २ मंसिर । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले शान्ति सुरक्षाको लागि नागरिक र प्रहरीबीचको सहकार्य हुन जरुरी रहेको बताएका छन् ।
नागरिकको सहयोग बिना समाजमा शान्ति सुरक्षा कायम हुन नसक्ने भन्दै रिजालले नागरिक र प्रहरीको साझेदारी अभियान थालिएको उल्लेख गरे । आइतबार चौबिसे गाउँपालिकाको मुढेबासमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटनका क्रममा बोल्दै प्रहरी प्रमुख रिजालले शान्ति सुरक्षा अमनचयन कायम गर्नमा स्थानीय सरकार र नागरिकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जोड दिए ।
‘विकाससँगै विकृति भित्रिने भएकाले सबैले प्रहरी हाम्रो साथी हो भन्ने धारणा बोक्नुपर्छ।’ प्रमुख रिजालले भने, ‘त्यसैका लागि प्रहरीले समुदाय प्रहरी कार्यक्रम ल्याएको हो।’ स्थानीय तहले गरेका विकास निर्माणलाई प्रहरीले सुरक्षा दिन चाहेको उनको भनाइ छ।
नागरिकको बुझाई र प्रहरीको काम गराईले प्रहरी घरआगँनमा आइदिए हुन्थ्यो भन्ने नागरिकको चाहना रहेको भन्दै रिजालले राज्यसँगको सिमित स्रोत साधनका कारण नागरिकको चाहना पूरा हुन केही समय लाग्ने बताए। उनले आवश्यकता हेरी हरेक ठाउँमा प्रहरी चौकी स्थापना गर्दै जाने बताए। प्रहरी संगठनमा कसैले फटाई गरेमा प्रहरी संगठनमा नजोडी गुनासो गर्ने निकायमा गुनासो गर्न उनले अनुरोध गरे।
चौबिसे गाउँपालिकाको मुढेबासमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको एक करोड ४२ लाख ६९ हजार चार सय ७० रुपैयाँको लागतमा भवन निर्माण भएको बताइएको छ।