उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७५ साल मंसिर २ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर १८ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– दशमी, १०:४९ बजेउप्रान्त एकादशी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पछिका लागि लगानी गर्नुपर्ने समय छ। केही पाउन केही त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश कमजोर साबित हुनेछ। आकस्मिक खर्च बढे पनि देशविदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रतिस्पर्धी पछि पर्नेछन् भने कर्मफल प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही समय लागे पनि कार्यसिद्धिको समय छ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। आफ्ना लागि जुटिदिने सहयोगीहरू फेला पर्नेछन्। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। सोख र विलासिताले फजुल खर्च बढाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ। चुनौती र व्यवधानहरू भने देखा पर्नेछन्भ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। तर अरूका कामले अल्झाउन सक्छ। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। अभावको अवस्थाबाट माथि उठ्न निकै प्रयत्न गर्नुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कमजोरीका बेला कामको चाप भने बढ्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। कामबाट आम्दानी भइरहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। परिबन्धले केही समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसर प्राप्त भए पनि परिस्थिति सबै पक्षमा अनुकूल देखिन्न। स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले सताउन सक्छ। तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन्। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। अध्ययनमा समय दिन नसकिए पनि आफ्नो प्रतिभाको कदर हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। आस मारेको नतिजा समेत सकारात्मक हुनेछ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारमा आमाको माध्यमले फाइदा उठाउन सकिनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग केही सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। धेरै बोल्दा समस्या आउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदा हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!