सुर्खेत, २७ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।

Advertisement

कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहनुभएको छ ।

उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको दीर्घकालीन सञ्चालन र व्यवस्थापनका लागि स्थायीरूपमा भौतिक पूर्वाधार निर्माण गर्न उपयुक्त जग्गा खोजी गरी कार्यप्रारम्भ गरेको १५ दिनभित्र सिफारिश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको प्रवक्ता केसीले बताउनुभयो ।

त्यस्तै, सबै जिल्लामा खारेज भएका कार्यालय भवन र जमीन प्रदेश सरकारको मातहतमा दिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रवक्ता केसीका अनुसार डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको नाम र केन्द्रमा असहमति जनाउँदै भूगोल छानबिन गरी केन्द्र कायम गर्न माग गरिएको निवेदनको सम्बन्धमा उक्त विषयलाई आवश्यक छानबिनका लागि मन्त्रिपरिषद्को राजनीतिक समितिमा पठाउने निर्णय गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!