संगालोखबर


विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । कार्यसम्पादनमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठलाई कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

नेपाल प्रहरीको साङ्गठनिक मूल्यमान्यता, आदेश तथा निर्देशनको पालना गर्दै व्यावसायिक, लगनशील एवं कर्तव्यनिष्ठ तवरले उच्च मनोबल र साहसका साथ जिम्मेवारी पूरा गरेको मूल्याङ्कन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

Advertisement

प्रहरी निरीक्षक श्रेष्ठको नेतृत्वमा कात्तिक महिनामा विभिन्न महत्त्वपूर्ण सफलता हासिल भएका छन् । कात्तिक २० गते विराटनगर-१२ रोडशेषस्थित वीरेन्द्र होटल एण्ड लजबाट ४८.५ ग्राम ब्राउन सुगर र एक थान डिजिटल तराजुसहित सञ्चालक निक्कु सिंहसमेतलाई पक्राउ गरिएको थियो ।

त्यस्तै, ‘जेन्जी आन्दोलन’ का क्रममा फरार रहेका तथा लागूऔषध मुद्दामा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएका विराटनगर-१९ का ४२ वर्षीय विजय कुमार राईलाई कात्तिक २३ गते नियन्त्रणमा लिइएको थियो ।

यसैगरी कात्तिक २९ गते जबर्जस्ती करणी मुद्दामा बाल सुधार गृहबाट पुर्पक्षमा रही फरार रहेका विराटनगर-५ का पवन पासवान र कटहरी गाउँपालिका-१ का चालू मुद्दाका फरार प्रतिवादी मोहमद राजु भन्ने राजु मोहम्मदलाई पक्राउ गरी कानुनी कारबाहीका लागि दाखिला गर्न उनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

कात्तिक महिनामा फैसला कार्यान्वयनतर्फ फरार रहेका १०१ जना प्रतिवादीहरूलाई पक्राउ गर्न नेतृत्वदायी एवं समन्वयकारी भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले श्रेष्ठलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!