संगालोखबर


विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरको प्राविधिक सहकार्यमा मोरङको तेतरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । समुदायस्तरमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने निरन्तर प्रतिबद्धताअनुसार हस्पिटलले ३ सय बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना तथा न्युरो हस्पिटल र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा तेतरियास्थित देवी माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको थियो ।

Advertisement

विशेषज्ञ स्वास्थ्य सेवा लिन विराटनगरसम्म आवतजावत गर्न समय, खर्च र भौगोलिक कठिनाइ झेल्दै आएका ग्रामीण तथा अर्धसहरी क्षेत्रका सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य परीक्षण तथा परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको न्युरो हस्पिटलले जनाएको छ ।

शिविरमा न्युरो हस्पिटलबाट खटिएका वरिष्ठ विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, फिजियोथेरापिस्ट तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच र परामर्शमा अग्रणी भूमिका निर्वाह गरेको थियो ।

कार्यक्रममा वरिष्ठ विशेषज्ञ डर्माटोलोजिस्ट डा. ऋचा शर्मा, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारी, विशेषज्ञ अर्थोपेडिक सर्जन डा. धीरज ठाकुर, विशेषज्ञ फिजिसियन डा. अनिल आचार्य तथा मेडिकल अफिसरहरू डा. अम्रेस यादव, डा. लिना यादव र डा. सन्दीप पटेलको उपस्थिति थियो ।

न्युरो हस्पिटलको बहुविशेषज्ञ सेवा तथा रामलाल गोल्छा आँखा अस्पतालको नेत्र विशेषज्ञ टोलीको सहकार्यमा शिविरमा जनरल फिजिसियनमार्फत सामान्य स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगको परामर्श तथा दैनिक स्वास्थ्य व्यवस्थापनसम्बन्धी सल्लाह प्रदान गरिएको थियो ।

त्यसैगरी हाडजोर्नी तथा नसातर्फ जोर्नी दुखाइ, ढाड दुखाइ तथा हड्डी र मांसपेशीसम्बन्धी समस्याको परीक्षण एवं उपचार परामर्श र फिजियोथेरापीमार्फत शरीरको दुखाइ, कडापन, नसा च्यापिएको तथा हिँडडुलसम्बन्धी समस्यामा आवश्यक फिजियोथेरापी परामर्श र व्यावहारिक अभ्यास गराइएको छ ।

यसका साथै शिविरमा सहभागीहरूका लागि निःशुल्क ब्लड सुगर परीक्षण र निःशुल्क ईसीजी सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा छाला तथा यौनरोग अन्तर्गत छाला, कपाल तथा एलर्जीसम्बन्धी समस्याको पहिचान तथा उपचार र परामर्श प्रदा नगरिएको छ ।

यस्तै स्त्री तथा प्रसूति रोग अन्तर्गत महिला स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा आवश्यक परामर्श र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक टोलीमार्फत आँखा रोग अन्तर्गत आँखा जाँच तथा दृष्टि परीक्षण सेवा उपलब्ध गराइएको थियो ।

आगामी दिनमा पनि प्रदेश तथा स्थानीय तहका विभिन्न बस्तीमा निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने न्युरो हस्पिटलको योजना छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!