
काठमाडौं । जीपी कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को सहयोगमा कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा रोग पहिचान भई थप उपचारका लागि केएमसीमा रिफर गरिएका बिरामीको प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया पनि निःशुल्क गर्न लागिएको हो ।
मंसिर ९ गते जाजरकोटको भेरी नगरपालिका-खलङ्गा बजार, मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा शिविर सञ्चालन हुनेछ ।
शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श प्रदान गरिनेछ । थप उपचार आवश्यक देखिएका बिरामी काठमाडौं मेडिकल कलेजमा रिफर हुनेछन् । प्रत्यारोपण तथा ओपन हार्ट सर्जरीबाहेकका सबै प्रकारका शल्यक्रिया निःशुल्क गरिने केएमसीले जनाएको छ । थप उपचार तथा शल्यक्रिया निःशुल्क भए पनि औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ ।
स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने र आवश्यक उपचार सेवा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । यसबाट जटिल रोग लागेका बिरामीले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था कम हुने केएमसीको अपेक्षा छ ।
स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षाको विस्तारमा डा. सुनील शर्माको योगदान रहँदै आएको छ । उनको स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, दलित तथा विपन्न परिवारका एक हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन् ।
छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीमध्ये कतिपय चिकित्सक, ल्याब टेक्निसियन, रेडियोग्राफर तथा नर्स बनेर स्वास्थ्य क्षेत्रमा कार्यरत छन् । सीमान्तकृत सन्थाल समुदायका चिकित्सक दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा यसका उदाहरण हुन् ।
चिकित्सा शिक्षाको अवसर विस्तार गर्नुका साथै सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउन डा. शर्मा सक्रिय रहँदै आएका छन् । केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर तथा आर्थिक रूपमा कमजोर बिरामीको थप उपचार र शल्यक्रियामा सहयोग गर्दै आएको छ ।

संगालोखबर 



















