
विराटनगर । ओखलढुंगामा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माणको माग गर्दै जग्गादाताहरूले आजबाट विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन सुरु गरेका छन् । अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दिएको सात वर्ष बितिसक्दा पनि निर्माणको काम सुरु नभएपछि जग्गादाताहरु अनसन बसेका हुन् ।
प्रादेशिक अस्पताल बनाउने भनिएपछि मानेभञ्ज्याङ गाउँपालिका-७ का ३५ जना स्थानीयले सात वर्ष अघि १६७ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । उनीहरूले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका नाममा जग्गा पास गरिदिएका छन् । तर, हालसम्म पनि अस्पताल निर्माणको काम अघि नबढेपछि जग्गादाताहरु आन्दोलित भएका हुन् । संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगानाको नेतृत्वमा चार जना जग्गा दाताहरू अनशन बसेका छन् ।
माग संवोधन नभएसम्म पानी पनि नखाई अनशन बस्ने संघर्ष समिति संयोजक ढुंगानाले बताए । ‘अस्पताल बनाउने भनेपछि हामीले जग्गा दियौं, तर सात बर्ष बितिसक्दा पनि केही काम सुरु भएन,’ ढुंगानाले संगालोखबरसँग भने, ‘हामीले पटक-पटक पहल गर्दा पनि सुनवाई नभएपछि यो अन्तिम लडाइ सुरु गरेका हौं, माग सम्बोधन नभएसम्म अनशन तोड्दैनौ, बरु यही सकिन्छौ ।’
यसअघि पनि मानेभञ्ज्याङवासीले अस्पताल निर्माणका लागि दवाव दिँदै आएका थिए । अस्पताल निर्माणको काम सुरु नभएको विरोधमा उनीहरूले गत फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान नै बहिष्कार गरेका थिए ।

रबिन कटेल/संगालोखबर 



















