सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका-९ छिम्सुवाका किशोर भण्डारीले ड्रागन फ्रुट खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । अन्य बालीका लागि उपयुक्त नभएको जमिनमा ड्रागन लगाएर उनले राम्रो आम्दानी गर्न थालेका हुन् ।

Advertisement

अन्य नगदेबालीसँगै ड्रागन फ्रुटको खेती विस्तार गरेपछि वार्षिक १५ लाख बढी आम्दानी हुन थालेको उनले बताए । तमोर नदी बगरको जमिनमा अन्य खेती गर्दा लगानी उठ्न समेत मुस्किल हुन्थ्यो ।

तर अहिले उनले यही बगरमा ड्रागन फ्रुट लगाएका छन् । सुख्खा र बलौटे जमिनमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि धनकुटामा ड्रागन फ्रुट खेती विस्तार हुन थालेको छ । उनले तीन वर्षअघिबाट करिब पाँच रोपनी क्षेत्रफल बगरमा ड्रागन खेती विस्तार गरेका थिए ।

अन्य बालीका लागि उपयुक्त नदेखिएको जमिनमा ड्रागन लगाएपछि राम्रो आम्दानी हुन थालेको उनले बताए । उनले बगरमा ड्रागनसँगै अहिले टमाटर र हाइब्रिड बयरको खेती गरेका छन् ।

उत्पादन र बजारको सम्भावना बढेपछि ड्रागन खेती थप विस्तार गरेको र अन्य तरकारी पनि लगाएको उनले बताए । पछिल्लो समय युएनडिपीको आर्थिक तथा पर्डेप नेपालको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण गरिएको छ ।

उनले आम्दानीको श्रोत बढाउन केरा खेती पनि सुरु गरेका छन् । खेती विस्तार हुँदै गएपछि उनले स्थानीय युवालाई रोजगारी समेत दिएका छन् । धनकुटामा पछिल्लो समय सुख्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा ड्रागन लगाउने किसानको संख्या बढेको छ ।

धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताए । ज्ञान केन्द्रले व्यवसायिक खेती गर्ने किसानलाई पहिले अनुदानका कार्यक्रम सञ्चालन गरेकोमा अहिले आवश्यक विशेषज्ञ सेवा दिँदै आएको छ ।

रोपेको करिब एक वर्षपछि उत्पादन दिन थाल्ने भएकाले कृषक ड्रागन खेतीतर्फ आकर्षित हुन थालेका छन् । ड्रागनको एउटा वयस्क बिरुवाबाट एक सिजनमा न्यूनतम २० केजीसम्म फल उत्पादन हुने कृषक भण्डारीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!