
धनकुटा । केहीवर्ष अघिसम्म रातो माटो, खाटो र कमेरोले घर पोतेपछि गाउँघरमा दशैँको रौनक छाउँथ्यो । तर पछिल्लो समय आधुनिक शैलीमा सिमेन्ट तथा कंक्रिटबाट घर निर्माण हुन थालेसँगै घर पोत्ने प्रचलन हराउँदै गएको हो ।
विषेश गरेर पहाडी जिल्लाहरूमा माटोले घर पोत्ने गरिन्छ । दशैँ सुरु भएपछि परापूर्वकालदेखि नै आ-आफ्नो घर सिँगार्ने तथा लिपपोत गर्ने प्रचलन चलिआएको थियो । परम्परागत शैलीमा ढुंगा, माटो तथा काठ प्रयोग गरेर बनाइएका घरमा रंगरोहन र लिपपोत गर्ने चलन छ ।
पछिल्लो समय गाउँघरमासमेत सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछी रातो माटो तथा कमेरोले पोत्ने चलन हराउँदै गएको धनकुटाका स्थानीय खगेन्द्र अधिकारीले बताए ।
‘गाउँ-गाउँमा सडक सञ्जाल विस्तार भएर यातायात सुविधा पुगेसँगै आधुनिक घरहरू निर्माण हुने क्रम बढ्दो छ’, उनले भने, ‘सिमेन्ट तथा कंक्रिटबाट घर निमार्ण हुन थालेसँगै रातोमाटो र कमेरोको चलन हराउँदै गएको छ ।’
पछिल्लो समय माटोले लिपपोत गरेर चिटिक्क पारिएका घर कम देखिन थालेको धनकुटाका खेम घिमिरेले बताए । गाउँबाट सेवा सुविधा र अवसरको खोजीमा बसाइँ सर्नेक्रम बढ्दै जाँदा पनि यो चलन हराएको उनले सुनाए ।
यस्तै गाउँघरमा दशैँ लागेसँगै बाटो सफा गर्ने, बिग्रेको ठाउँमा बनाउने, पिङ हाल्ने जस्ता गतिविधि पनि हराउँदै गएको घिमिरेले बताए । आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि नयाँ पुस्तालाई त्यसको ज्ञान समेत हुन छाडेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 




















