
विराटनगर । नवरात्रको पाँचौँ दिन आज नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमीका दिन घरघरमा, दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको पूजा गरी शक्ति, समृद्धि र ज्ञान प्राप्तिको कामना गरिन्छ ।
सनातन धार्मिक परम्पराअनुसार नवरात्रका नौ दिन दुर्गाका नौवटा स्वरूपको क्रमशः पूजा गर्ने चलन छ । स्कन्दमातालाई मातृत्व, करुणा र आध्यात्मिक ज्ञानको प्रतीकका रूपमा लिइन्छ ।
धार्मिक मान्यताअनुसार उनको आराधनाले भक्तजनलाई शक्ति, ऐश्वर्य र विद्याको आशीर्वाद प्राप्त हुन्छ । स्कन्दमाताको प्रतिमामा देवी सिंहासनमा विराजमान भएको र दुवै हातमा कमलका फूल धारण गरेको स्वरूप देखाइन्छ ।
नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नौ दिनसम्म चल्ने विशेष पूजाआराधनाले घरपरिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

संगालोखबर 




















