सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । परम्परागत सीपलाई व्यवसायिक बनाएपछि धनकुटाको घोर्लीखर्कस्थित कटहरे गाउँको दैनिकी फेरिएको छ । पुर्खौली पेसालाई आधुनिकीकरणसँगै व्यवसायिक बनाउँदा आर्थिक र सामाजिक अवस्था पनि सबल बन्दै गएको छ ।

परम्परागत आरनबाट घरायसी प्रयोगका लागि फलामका विभिन्न औजार बनाउँदै आएको समुदायले प्रविधिको विकाससँगै सीपलाई थप सहज बनाउँदै लगेको हो ।

पाख्रीबास नगरपालिका-५ घोर्लीखर्कस्थित कटहरे गाउँका २३ घरपरिवारले परम्परागत खुकुरी उद्योग धान्दै आएका छन् । पुर्खौली सीपलाई आधुनिक प्रविधिसँग जोड्दा कटहरेको आर्थिक र सामाजिक अवस्था मात्र नभएर परिचयसमेत फेरिएको छ ।

पूर्वी पहाडी जिल्ला भोजपुर र संखुवासभाको प्रवेशद्वारसमेत रहेको कटहरेका विश्वकर्मा समुदाय अधिकांश परम्परागत धातुजन्य हस्तकला उद्योग चलाउँदै आएका छन् ।

केही वर्षअघिसम्म उनीहरू सामूहिकरूपमा आरन घरमा पालो पर्खिएर औजार बनाउने गर्दथे । तर अहिले भने आधुनिक प्रविधि भित्रिएसँगै घरैपिच्छे जसो ग्राइन्डर, ब्लोअर, कटिङ मेसिन र अन्य आधुनिक उपकरण जडान गरिएको छ ।

‘पहिला-पहिला औजार बनाउँदा दिनभरको मेहनतले घर-परिवार र व्यवहार चलाउन समेत मुस्किल हुन्थ्यो’, स्थानीय झमक रसाइलीले भने, ‘तर अहिले अहिले अवस्था फेरिएको छ । पेसालाई आधुनिक प्रविधिसँग जोड्दा आर्थिक उपार्जन पनि बढेको छ ।’

यस ठाउँमा बनेका खुकुरी स्थानीय बजारमा मात्र नभएर जिल्ला भन्दा बाहिर र विदेशसम्म पनि पुग्न थालेका छन् । गुणस्तर र आकार अनुसार पन्ध्र सयदेखि बाह्र हजार रुपैयाँसम्ममा खुकुरी बिक्री हुने गरेको उनले बताए ।

खुकुरी उद्योगले गाउँको आर्थिक अवस्था मात्र नभएर जीवनशैली नै परिवर्तन भएको उनले बताए । ‘पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो’, उनले भने, ‘अहिले भने आफ्नै घरमा उद्योग भएपछि सहज भएको छ ।’

कटहरे गाउँमा एक घर परिवारले वार्षिक करिब चार सय वटासम्म खुकुरी बनाउँदै आएका छन् । जसले गर्दा गाउँमा बालीघरे प्रथासमेत हट्दै गएको छ । ‘पहिले अन्नको साटो औजार बनाइदिने चलन थियो’, स्थानीय ताराबहादुर विश्वकर्माले भने, ‘अहिले उत्पादन नगदमा बिक्री हुँदा श्रमको उचित मूल्यसँगै पेसाप्रतिको सम्मानसमेत बढ्दै गएको छ ।’

बजारको मागअनुसार खुकुरीको डिजाइन तथा आकार परिवर्तन गर्ने गरिएको उनले बताए । उनका अनुसार पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइने गरिएको भएपनि अहिले सजावट, उपहार आदिका लागि खुकुरीको माग बढेको छ ।

उद्योगले गाउँमै रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीमा गएका युवासमेत आफ्नो ठाउँ फर्किएर स्वरोजगार भएका अर्का स्थानीय प्रेमबहादुर विश्वकर्माले बताए । तर कच्चा पदार्थको मूल्य वृद्धि, आधुनिक उपकरणको लागत खर्च, बजार विस्तार र ब्रान्डिङको अभाव लगायतले चुनौती थपेको उनले बताए ।

सरकारी निकायबाट प्रविधि, बजारीकरण र सीप विकासमा थप सहयोग भए आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ । कुनै समय गरिबी, अभाव र सामाजिक विभेदका कारण पछि परेको कटहरे गाउँ आज आफ्नै सीप र श्रमको बलमा आर्थिक रूपमा सबल बनेको छ । कटहरे गाउँ अहिले पूर्वी नेपालको खुकुरी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित बन्दै गएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!