
विराटनगर । मोरङका विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीहरू संगठित रूपमा आन्दोलनमा उत्रिएका छन् । सुन्दरहरैँचा, लेटाङ र पथरीशनिश्चरे लगायतका स्थानमा हिजो र आज छुट्टाछुट्टै प्रदर्शन भएका छन् ।
आन्दोलनले सुकुम्बासीमा बढ्दो असन्तोष र त्रासलाई सतहमा ल्याएको छ । डोजर प्रयोग गरेर बस्ती हटाइने सम्भावित सरकारी कदम, काठमाडौंमा हालै गरिएको बलपूर्वक हटाउने अभ्यास र स्थानीय तहहरूमा पठाइएका विवरण सङ्कलन सम्बन्धी पत्रहरूले सुकुम्बासीहरूलाई थप आक्रोशित र असुरक्षित बनाएको देखिन्छ ।
सुन्दरहरैँचा नगरपालिका-१० स्थित बाघझोडामा आयोजित विरोध कार्यक्रमले आन्दोलनलाई स्पष्ट स्वर दिएको छ । बाघझोडा सुकुम्बासी संरक्षण संघर्ष समिति सुन्दरहरैँचाको आयोजनामा आज प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति आक्रोशपूर्ण नारा लगाउँदै सुरु भएको पैदल र्याली नगरका मुख्य बजार क्षेत्र परिक्रमा गरी नगरपालिका कार्यालयसम्म पुगेको थियो ।
समितिका संयोजक दीपेन्द्र जोगीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले ‘देशभरिका सुकुम्बासी एक हौँ’, ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्बासी बस्ती हटाउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो ।
मोरङ जिल्लामा हाल ८ हजार ९१९ भूमिहीन दलित, १८ हजार ५६१ सुकुम्बासी र ४० हजार २५३ अव्यवस्थित बसोवासी परिवार रहेको तथ्यांक छ । अद्यावधिक विवरणअनुसार करिब ८० हजार परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नुपर्ने देखिन्छ ।

संगालोखबर 




















