संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा नेपाल मानव संसाधन सम्मेलनको दोस्रो संस्करण वैशाख २५ र २६ गते विराटचोकमा हुने भएको छ । नेपालमा बढ्दो मानव संसाधन चुनौतीलाई सम्बोधन गर्दै औद्योगिक विकासका लागि सक्षम जनशक्ति निर्माण गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको हो ।

नेपालको औद्योगिक क्षेत्र हाल दक्ष जनशक्तिको अभाव, उच्च दरको वैदेशिक पलायन, सीपको असन्तुलन, कर्मचारी स्थायित्वको कमी, प्रविधिको तीव्र विकास, रोजगारदाता र तालिम प्रदायकबीच समन्वय जस्ता समस्याबाट प्रभावित छ ।

यी चुनौतीहरूले औद्योगिक विस्तारलाई अपेक्षित गतिमा अघि बढ्न नदिएको सन्दर्भमा सम्मेलनले मानव संसाधनलाई उत्पादनशीलता र दिगो औद्योगिक विकासको रणनीतिक आधारमा पुनः परिभाषित गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।

अध्यक्ष राठीका अनुसार सम्मेलनले मानव संसाधन व्यवस्थापनलाई गुणस्तर र उत्पादकत्वसँग प्रत्यक्ष रूपमा जोड्ने प्रयास गर्नेछ । यसका साथै नवीन अभ्यासहरूको आदान-प्रदान, कर्मचारी स्थायित्व अभिवृद्धि, अप्रेन्टिसशिप तथा प्रमाणिकरण प्रणालीको सुदृढीकरण, डिजिटल एचआर प्रणालीको प्रवर्द्धन तथा रोजगारदाता, तालिम प्रदायक बीच सहकार्य विस्तार गर्ने जनाइएको छ ।

पहिलो र दोस्रो दिन गरी जम्मा ९ वटा सत्रहरूमा विभाजित गरिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सहितका वक्ता र प्यानलिस्टहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।

उक्त सत्रहरूमा बहुराष्ट्रिय कम्पनीहरूले मानव संसाधन व्यवस्थापनमा अपनाएका अभ्यास, प्रविधिगत परिवर्तनले जनशक्तिमा पारेको प्रभाव, डिजिटल एचआर प्रणालीको प्रयोग, कर्मचारी स्थायित्वका उपायहरू तथा प्रचलित ऐन कानुनका विषयमा प्रस्तुती हुने संगठनका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले बताए ।

उनले औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति विकासमा उद्योगको भूमिका, अन्तर्राष्ट्रिय मापदण्डहरूको अवलम्बन तथा मूल्य अभिवृद्धि श्रृंखलामा जनशक्तिको योगदान जस्ता विषयहरूका साथै प्रेरणादायी वक्ताबाट सफलताका व्यावहारिक सूत्रहरू प्रस्तुत हुने जानकारी दिए ।

सम्मेलनमा १५० भन्दा बढीको सहभागिता रहने अपेक्षा छ । सम्मेलनबाट मानव संसाधन सम्बन्धी रणनीतिक रोडम्याप तयार हुनुका साथै कर्मचारी स्थायित्वका उपायहरू पहिचान हुने, अप्रेन्टिसशिप मोडेलको विकास हुने, डिजिटल प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान विस्तार हुने विश्वास संगठनले लिएको छ ।

उद्योग संगठन मोरङका अनुसार सन २०२४ मा भएको पहिलो संस्करणको सम्मेलनले मानव संसाधनलाई औद्योगिक रूपान्तरणको प्रमुख उपलब्धिका रूपमा स्थापित गरेको थियो भने यस वर्षको दोस्रो संस्करणले ती उपलब्धिहरूलाई थप सुदृढ गर्ने विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!