
विराटनगर । मोरङको बेलबारीबाट दाजुभाइ पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको लामो समयसम्म फरार रहेका दाजुभाइ मंगलबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-५ का ५७ वर्षीय धनपाल भगत थारू र उनका दाजु भूपाल भगत थारू छन् । उनीहरूलाई जनही १७ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ ।
मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका थिए । दाजुभाइलाई उच्च अदालत विराटनगरले २०७७ फागुन ४ गते दोषी ठहर गर्दै जनही १७ वर्ष ५ महिना २१ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
त्यसअघि दाजुभाइले नै जिल्ला अदालत मोरङबाट भने सफाइ पाएका थिए । जिल्लाको फैसला उल्टाउँदै उच्च अदालतले धनपाल र भूपाललाई दोषी ठहर गर्दै कैदको फैसला गरेको भए पनि सजाय भुक्तान नगरीकन लामो समयदेखि उनीहरू फरार रहेका थिए । घरमै लुकेर बसेको अवस्थामा दाजुभाइलाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 























