
विराटनगर । जेनजी आन्दोलनमा तोडफोड गरेर ध्वस्त पारिएका विराटनगरका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन् । गत भदौ २४ गते भएको आन्दोलनमा ध्वस्त पारिएका ट्राफिक लाइट मर्मतपछि सोमबारबाट सञ्चालनमा ल्याइएको हो ।
महानगर क्षेत्रभित्र जडान गरिएका ६ मध्ये ५ स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ । अब कञ्चनबारीमा जडान गरिएको ट्राफिक लाइट सञ्चालन हुन बाँकी छ ।
आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेर लाइटहरूमा जडान गरिएका इन्भर्टर, ब्याट्री, विद्युत तार, क्यामेरा लगायतका सामग्रीमा क्षति पुर्याइएको थियो । क्षति नपुगेका सामान लुटपाट र चोरी गरेर लगिएको थियो ।
ट्राफिक लाइटमा क्षति पुग्दा विराटनगरको ट्राफिक व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटनाको जोखिम बढेको थियो । ट्राफिक लाइट सञ्चालनमा आएसँगै ट्राफिक व्यवस्थापनमा सहजता थपिएको मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनले कञ्चनबारीको ट्राफिक लाइट पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । ट्राफिक लाइटमा क्षति पुग्दा सवारी आवागमन अस्तव्यस्त बनेको थियो ।

संगालोखबर 























