
विराटनगर । विराट गोल्डकपमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबविरुद्ध नेपाल फुटबल संघ (एन्फा) का एक सदस्यले षड्यन्त्र गरेको आरोप लागेको छ ।
उपाधिका लागि पूर्व विजेता झापा-११ र सम्राट स्पोर्टिङ क्लबबीच शनिबार हुने तय भएको फाइनल खेल वर्षाका कारण स्थगित भएपछि आजका लागि सारिएको थियो ।
तर आज हुने फाइनल खेलअघि नै सम्राट स्पोर्टिङका दुई जना खेलाडी ‘भगाइएको’ आरोप क्लबले लगाएको हो । भगाइएका खेलाडीको नाम भने गोप्य राखिएको छ । यसबारे औपचारिक रूपमा पत्रकार सम्मेलन गरी जानकारी गराइने क्लबका अध्यक्ष किरण गिरीले बताएका छन् ।
सहिद रंगशालामा फाइनल खेल सुरु हुनुअघि अध्यक्ष गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत षड्यन्त्र भएको दाबी गरेका छन । उनले लेखेका छन्, ‘मोरङ फुटबलका ठालुहरूको हैसियत देखियो, दलाल सबैको हिसाब-किताब हुन्छ ।’
शनिबारको वर्षापछि मैदानमा पानी जमेकाले खेल स्थगित गरिएको थियो । विराट गोल्डकपको इतिहासमा झापा-११ दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै उपाधि उचाल्ने दाउमा थियो ।
तर निर्णायक खेलअघि दुई खेलाडी नै गुमाएको आरोपले प्रतियोगिता विवादमा तानिएको छ । यता एन्फा मोरङका अध्यक्ष सुशील बुढाथोकीले भने आरोपप्रति असहमति जनाएका छन् ।
उनले पछिल्लो निर्वाचनको मतपरिणामपछि विभिन्न पक्षबाट अनावश्यक विषय बाहिर ल्याइएको दाबी गर्दै क्लब र खेलाडीबीचको सम्झौताको आधार खोज्नुपर्ने बताए ।

संगालोखबर 























