
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-३ मंगलहाटस्थित ग्रामथान मन्टेश्वरी स्कुलले चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । आज विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाएको हो ।
कार्यक्रममा प्ले-ग्रुपदेखि कक्षा २ सम्म अध्ययनरत करिब एक सय जना साना बालबालिकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरूले विभिन्न बालगीत र आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।
विद्यार्थीहरूको हौसला बढाउन शिक्षक-शिक्षिकाहरूले समेत उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दिप कुमार मण्डलले विद्यालयको शैक्षिक वातावरण र बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरे ।
सोही अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ । यस्तै विभिन्न अतिरिक्त क्रियाकलाप तथा वर्षभरिमा सबै गतिविधिमा उत्कृष्ट हुने बालबालिकाहरूलाई पनि पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका डाइरेक्टर रामप्रसाद पौडेलले बालबालिकाको चौतर्फी विकासका लागि व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । त्यस्तै, प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले विद्यालयको शैक्षिक यात्रामा सहयोग र्पुयाउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले स्कुलले बालबालिकाहरूलाई व्यवहारिक र नैतिक शिक्षा पनि दिँदै आएको उल्लेख गरे । अभिभावकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरूले प्रतिभा प्रस्फुटन गरेका थिए ।

संगालोखबर 























