
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थित पकली-चतरा सडक खण्डबाट प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २६ वर्षीय राज राई र पछाडि सवार २७ वर्षीय खुसे राई छन् । चेकजाँचका क्रममा उनीहरूको साथबाट ट्रामाडोल १ हजार ६१० क्याप्सुल र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहानको राति अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको टोलीले पकलीबाट उदयपुरतर्फ जाँदै गरेको स १० प ४५१० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो ।
दुवै जनालाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । उनीहरूविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

संगालोखबर 























