
काठमाडौं । स्वास्थ्य बीमा गरेका बिरामीले अब एक आर्थिक वर्षमा बहिरङ्ग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा पाउने भएका छन् । बीमाको वित्तीय भार ओपीडीमा धेरै परेकोले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको हो ।
स्वास्थ्य बीमा बोर्डका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ । बोर्डका अनुसार आगामी फागुन १ गतेदेखि नयाँ नियम कार्यान्वयनमा ल्याउने तयारी छ ।
आईसीयू तथा सर्जरीमा सेवा लिँदा बीमा पर्याप्त नहुने भएकाले सन्तुलन मिलाउन यो नियम लागू गरिएको बोर्डले जनाएको छ । अहिले स्वास्थ्य बीमामा आबद्ध हुन ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । बीमाबाट परिवारका पाँच सदस्यले वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सेवा लिन सक्छन् ।
तर ओपीडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले आफूले शुल्क तिरेर थप उपचार लिनुपर्ने व्यवस्था गरिएको छ । बोर्डको अध्ययनअनुसार बीमाको झन्डै ७१ प्रतिशत खर्च ओपीडी सेवामा जाँदै आएको छ भने बाँकी रकम भर्ना तथा आकस्मिक उपचारमा खर्च हुने गरेको छ ।

संगालोखबर 













