
विराटनगर । मोरङको रंगेली नगरपालिका-४ को धनपति क्षेत्र लगायतका स्थानमा हाइना (हुँडार) को बथान देखिएको छ । विगत एक सातादेखि भारतीय सीमा क्षेत्रमा हाइनाको बथान देखिको स्थानीयले बताएका छन् ।
वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डलका अनुसार हाइनाको बथान देखिएको भन्दै गाउँघरमा त्रास छाएको छ । ‘आफ्नै आँखाले त देखेको छैन । गाउँमा केहिदिनदेखि हल्ला छ’, वडाध्यक्ष मण्डलले संगालोखबरसँग भने, ‘रंगेली ४, ५ र ६ मा हाइनाको बथानै देखिएको भनेर सुनेको हो ।’
उनले अहिले नै सत्य कुरा के भन्न सक्ने अवस्था नरहेको बताए । ‘फोटो खिच्ने मान्छेलाई बोलाएको छु’, उनले थपे, ‘उसले कहिले, कहाँ, कसरी फोटो खिचेको रहेछ सोधेपछि मात्रै थप कुरा खुल्छ ।’
हाइना देखिएको पुष्टि नभएपनि गाउँमा व्यापक त्रास छाएको उनले बताए । ‘गाउँका मान्छेहरू खेतिपातीमा एक्लै जान डराउन थालेका छन्’, उनले भने, ‘दुई दिन अगाडि एउटा वडामा देखिएको हल्ला थियो । हिजो बेलुका फेरी ६ नम्बरमा देखियो भन्ने हल्ला छ ।’ सन् २०११ मा गरिएको अध्ययन अनुसार नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको छ ।
तर हाल कुन-कुन जिल्लामा हाइना पाइन्छ र अवस्था कस्तो छ भन्ने कुनै यकिन तथ्याङ्क छैन । मांसाहारी यी जनावरले सामूहिक सिकार गर्छन् । हेर्दा कुकुरजस्तो देखिने यो जनावरको टाउको अग्लो र पुच्छरतिरको भाग होचो हुन्छ ।

संगालोखबर 













