
विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरमा राजश्व सङ्कलनमा वृद्धि भएको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा आगजनी भएपछि विराटनगरमा सेवाग्राहीको चाप बढ्दा राजश्व सङ्कलनमा वृद्धि भएको हो ।
खार्जीस्थित यातायात कार्यालयमा दैनिक राजश्व बुझाउन आउनेको अत्यधिक भिड लाग्ने गरेको छ । राजस्व तिर्न घण्टौँसम्म लाइनमा बस्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।
विराटनगर-११ का विमल रायमाझी सवारी दर्ता नवीकरणका लागि बुधबार बिहान ११ बजे कार्यालय पुगेका थिए । तर दिउँसो २ बजेसम्म पनि काम नसकिएको उनले बताए । ‘राजश्व बुझाउन घण्टौँ लाइनमा बस्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीको भीड बढ्दा समयमा काम हुने अवस्था छैन ।’
कार्यालयका सूचना अधिकारी गिरिजाप्रसाद पराजुलीका अनुसार इटहरी, बिर्तामोड लगायतका कार्यालयमा आगजनी भएपछि ती कार्यालयको राजश्व सङ्कलन विराटनगरबाटै भइरहेको छ । ‘पहिले दैनिक १५ देखि २० लाखसम्म राजस्व सङ्कलन हुन्थ्यो’, उनले भने, ‘अहिले ३० देखि ३५ लाखसम्म राजश्व सङ्कलन हुन थालेको छ ।’
टाढाबाट आउने सेवाग्राहीहरू लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यतामा रहेको पराजुलीले बताए । जेनजी आन्दोलनपछि मंगलबारबाट सवारी चालक अनुमति पत्र नवीकरण कार्य पुनः सुरु भएको छ । साथै सवारी नामसारी, सवारी जाँचपास लगायतका सेवा नियमित प्रवाह भइरहेको उनले जानकारी दिए ।

इन्दु साह/संगालोखबर 













