
विराटनगर । मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक लगाइएको छ । सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देउसी-भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । उनले कानून विपरीतका गतिविधि गरेको पाइएमा कारबाही हुने चेतावनी समेत दिएका छन् ।
यस्तै शङ्कास्पद गतिविधि गरेको पाइएमा तत्काल १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ । चाडवाडको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनैपनि गतिविधि साथै मनोरञ्जनको नाममा गैर कानूनी रूपमा चिठ्ठा, जुवातास, कौंडा, लङ्गुरबुर्जा, सट्टाबाजीजस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्ने र नगराउन पनि आग्रह गरिएको छ ।
चाडपर्वको समयमा सवारी साधनको क्षमता भन्दा बढी यात्रुहरु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियमको पालना गर्ने र गराउन आग्रह गरिएको छ ।


संगालोखबर 













