संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका-१२ कामत चोककी संगिता यादवको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न रहेका सोही वडाका ३१ वर्षीय धिरेन्द्र कामत, वडा नं. २ का २१ वर्षीय सुदिप कामत र वडा नं. ६ का २२ वर्षीय विवेक कामतलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गत असोज ३ गते मान्छे नभएको मौका पारी यादवको घरबाट खरानी रंगको झोलासहित सुन, चाँदी, नगद र मोबाइल चोरी भएको थियो । घटनाको जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा गत बुधबार त्यही झोलासहित धिरेन्द्र फेला परे ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा पत्ता लागेपछि चोरीमा संलग्न थप दुई जनालाई पनि नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । ‘चोरेर लगेको झोला बोकेर हिँड्दै गरेको अवस्थामा भेटिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरियो, त्यहीबाट घटना पत्ता लाग्यो र चोरीमा संलग्न अरु थप दुई जनालाई पनि पक्राउ गरेका छौं,’ एसपी कटवालले संगालोखबरसँग भने, ‘चोरी भएको नगद र गहनाहरू अन्तै व्यवस्थापन गरिसकेको रहेछ, त्यो पनि बुझ्दैछौ ।’

चोरी गरेर लगेको झोलाका आधारमा १९ दिनपछि प्रहरीले चोर समात्न सफल भएको हो । चोरी भएको मोबाइल पनि उनीहरूको साथबाट बरामद भएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ । चोरीमा संलग्न तीनै जनामाथि प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!