
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ दलेलीस्थित कानेपोखरी-रमाइलो सडक खण्डमा ट्रक र यात्रुबाहक बस ठोक्किँदा ६ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १२ः३० बजे कानेपोखरीबाट रङ्गेलीतर्फ आउँदै गरेको ना ५ ख २८६९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको को १ ख २९१२ नम्बरको यात्रुबाहक बस ठोक्किएका हुन् ।
दुर्घटनामा बस चालक मोरङको बेलबारी नगरपालिका-७ का २७ वर्षीय कुमार श्रेष्ठ र कटहरी गाउँपालिका-२ का २७ वर्षीय सुबोध ठाकुर घाइते भएका छन् । श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुबै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
यस्तै रङ्गेली नगरपालिका-८ का २१ वर्षीय आशिष सरदार, उनकी श्रीमती २१ वर्षीया भूमिका सरदार, जहदा गाउँपालिका-६ की ५० वर्षीया सरिता हस्दा र सुनवर्षी नगरपालिका-६ का ७१ वर्षीय कर्णबहादर धिमाल घाइते भएका छन् ।
उनीहरूको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













