
विराटनगर । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले विराटनगरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । केही दिनदेखि सडकमा ट्राफिक प्रहरी देखिए पनि उनीहरूले पूर्ण रूपमा काम गर्ने वातावरण नबनेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिएको हो ।
कोशी प्रदेशको राजधानी सहर समेत रहेको विराटनगरमा चाडपर्व नजिकिएसँगै सवारी साधनको चाप बढ्दै गएको छ । त्यसमाथि ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या धेरै हुँदा दुर्घटनाको जोखिम थपिएको छ ।
विशेषगरी सिटी सफारी चालकहरूले ट्राफिक नियमको खुलेआम उल्लङ्घन गरिरहेका छन् । विराटनगरमा सिटी सफारीको चाप धेरै छ । अहिले सफारी जेब्राक्रसमा पार्किङ गर्ने, जथाभावी रोक्ने जस्ता गतिविधि भइरहेका छन् । जसले दुर्घटनाको जोखिम थपेको छ ।
अन्य सवारी-साधनले पनि ट्राफिक नियम पालनामा ध्यान दिएको पाइँदैन । ‘चाडपर्वका कारण त्यसैपनि भीडभाड छ’, विराटनगर-८ का मोहम्मद सैयदले भने, ‘ट्राफिक प्रहरी नहुँदा चालकहरूको मनमौजी छ । जसले दुर्घटनाको जोखिम निम्त्याएको छ ।’
यस्तो अवस्थामा सबैले सचेत भएर ट्राफिक नियमको पालना गर्नुपर्ने उनको भनाइ छ । विराटनगरका स्थानीय अफताब खानले अहिले सिटी सफारीका कारण सडक थप अस्तव्यस्त भएको सुनाए ।

‘सामान्य अवस्थामा त ट्राफिक नियम पालनामा ध्यान दिएको पाइँदैन थियो’, उनले भने, ‘अहिले ट्राफिक नबस्दा त उनीहरूलाई कसले रोक्न सक्छ । सबै जना सचेत नभएसम्म यस्तै हो ।’
मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले आन्दोलनपछि पहिलाकै अवस्थामा ड्युटीमा खटिने वातावरण नभएको बताए । उनले पहिलाकै अवस्थामा काम गर्ने वातावरण बनाउन स्थानीयको साथ र सहयोग आवश्यक पर्ने उल्लेख गरे ।
‘पहिलाकै अवस्थामा फर्कने वातावरण बनाउन स्थानीयवासीको सहयोग र चासो आवश्यक छ’, उनले भने, ‘छिट्टै प्रहरी र स्थानीय युवाको सहकार्यमा ट्राफिक व्यवस्था सामान्य अवस्थामा फर्काउने तयारी भइरहेको छ ।’
ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने भन्दै युवाहरूले जिल्ला प्रहरी कार्यालय तथा विराटनगर महानगरपालिकामा पनि ध्यानाकर्षण गराएका छन् ।

इन्दु साह/संगालोखबर 













