संगालोखबर


विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् ।

नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

Advertisement

उनले जेनजीको आवरणमा भएको षड्यन्त्रमुलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै यसका विविध पाटोहरू बिस्तारै पटाक्षेप हुने उल्लेख गरे । एकले अर्काको विरुद्ध प्रयोग गर्दा देशको सार्वभौम सत्ता नै सङ्कटमा पर्ने गरी परिस्थिति सिर्जना भएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा ज-जसले यो घटना घटाएका छन् उनीहरूले देशको सार्वभौमसत्तामाथि नै खतरा पैदा गरेको धारणा राखे । नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा उनले छलफल हुने र नेकपा एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने बताए ।

सङ्कटको बेला नेतृत्वमाथि विभिन्न कोणमा प्रहार भइरहेको उल्लेख गर्दै यतिखेर नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने र विधि र प्रक्रियामा नेतृत्व परिवर्तन हुने उनको भनाइ थियो । नेपाली काँग्रेस र एमालेप्रति अहिले बढी प्रहार भएको र त्यही अनुसार छानीछानी आक्रमण भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

अहिलेको सरकार संविधान विपरीत गठन भएको एमालेको ठहर रहेपनि चुनावबाट एमालेपछि नहट्ने कार्कीले स्पष्ट पारे । भदौ २३ गतेको घटनापछि पहिलोपटक कोशी प्रदेशमा नेकपा एमालेले भौतिक रूपमा कार्यकर्ता उपस्थित गरेर अगुवा कार्यकर्ता भेला गरेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!