
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज साँझ मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बेलबारी नगरपालिका-९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीको मृत्यु भएको हो ।
याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
याङ्गलले किचेर बेलबारी-९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मिला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनीहरूको नोबेल अस्पतालमै उपचार भइरहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













