
विराटनगर । जेनजी आन्दोलनका क्रममा चोरी भएका सामान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेका छन् । आज सूचना जारी गर्दै कार्यालयले सामान फिर्ता नगरे कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गरेको सूचनामा २४ गतेको आन्दोलनको क्रममा चोरिएका सामान फिर्ता गर्न भनिएको छ ।
उक्त घटनामा सवारी साधनहरू, कम्प्युटर सेट, टिभी, वासिङ मेसिन, हार्ड डिक्स, स्क्यानर, क्यामेरा, मोबाइल, ल्यापटप, नागरिकताको अभिलेख रजिस्टर, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका सामानहरू लुटपाट एवं चोरी भएका जनाइएको छ ।
उक्त तोडफोड र चोरीमा संलग्नहरूको सिसिटिभी फुटेज, सामाजिक सञ्जालका भिडियो तथा सर्वसाधारणले उपलब्ध गराएको लुटपाटका भिडियो मार्फत व्यक्ति पहिचान गर्ने काम भइरहेको सूचनामा भनिएको छ ।
कसैले सामान लगेको भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।


संगालोखबर 













