
धनकुटा । धनकुटामा क्रियाशील राजनीतिक दलले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा घुसपैठ गरी अवाञ्छित गतिविधि गर्नेहरूमाथि कारवाहीको माग गरेका छन् ।
चार राजनीतिक पार्टीले संयुक्तरूपमा अपिल जारी गर्दै सरकारी, सार्वजनिक र व्यक्तिगत संरचना र व्यवसायहरूमाथि तोडफोड, लुटपाट र आगजनी गर्नेलाई कारबाहीको माग गरेको हुन् ।
यस्तै आन्दोलनको क्रममा उठेका सकारात्मक र जायज मागहरूप्रति समर्थन गर्दै अविलम्ब सम्बोधन गर्न तथा भष्ट्राचार छानविन गरी कारवाहीको दायरामा ल्याउने साथै उच्च स्तरीय छानविन आयोग गठन गर्ने लगायत अन्य प्रक्रियाहरू सुरु गर्न माग गरिएको छ ।
‘नेपालको संविधान २०७२ को भावना र मर्मलाई आम नागरिकबाट समर्थन रही यसको संरक्षण गर्ने जिम्मा समेत नागरिकमा नै रहेको छ । तसर्थ संसद् विघटन र प्रधानमन्त्रीको नियुक्ति गर्ने कार्य संविधान वितरित भएको ठहर गर्दछौँ’, अपिलमा भनिएको छ ।
देशका विभिन्न भागमा जेनजी आन्दोलनको क्रममा ठुलो जनधनको क्षति भएपनि धनकुटामा सञ्चालित आन्दोलन बिनाकुनै नोक्सानी, सावधानीपूर्वक र शान्तिपूर्ण भएकोमा आन्दोलनमा सहभागी सम्पूर्णलाई विशेष धन्यवाद प्रकट गरेका छन् ।


संगालोखबर 













