
विराटनगर । विराटनगर-१५ मण्ठापोखरी मन्दिर अगाडिबाट ठूलो परिमाण लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको कटिहार शिवानापुर-४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहार खरसोता-५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन् ।
शंकास्पद रूपमा गफ गरेर बसिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
हुसेनले बोकेको झोलाभित्र रहेको पाइन्टको गोजीबाट १४७ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी चुडालको भनाइ छ । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।
उनीहरूविरुद्ध लागूऔषध ऐन अन्तरगतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

संगालोखबर 













