
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयकको पत्रकारहरूले सांकेतिक विरोध गरेका छन् । आज नेपाल प्रेस युनियन कोशी प्रदेश कार्यसमितिको आयोजनामा उल्टो हिँडेर विरोध गरिएको हो ।
प्रदेश सभा छेउमा भेला भएका पत्रकारहरू कालो पट्टी बाँधेर हाटखोलासम्म उल्टो हिँडेका हुन् । प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठले प्रदेश सरकारले ल्याएको विधेयकमाथि पटक-पटक सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता गरेर दण्ड सजायसहितको विधेयक पास हुने अवस्थामा रहेकाले विरोध गरिएको बताए ।
‘कोशी प्रदेश सरकार उल्टो हिँडिरहेको छ’, उनले भने, ‘सरकारले गर्नुपर्ने काम नगरेर पत्रकारलाई दण्ड जरिवाना गर्ने मानसिकताबाट गुज्रिरहेको छ भनेर हामीले आज उल्टो हिँडेर सांकेतिक रूपमा विरोध गरेका हौँ ।
शुक्रबार पनि पत्रकारहरूले प्रदेश सभा अगाडि प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले पत्रकारहरूमाथि धरपकड गरेको थियो ।

संगालोखबर 













