
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जाने भएकी छन् । सोमबार विराटनगर आएकी भण्डारी आज १ बजेपछि पार्टी कार्यालय जाने उनको सचिवालयले जनाएको छ ।
मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले भण्डारी त्यहाँ जान लागेकी बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले कार्यकर्ता भेटघाट कार्यक्रम गर्न लागेको भन्दै एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेत लगायतले कार्यक्रम नगर्न निर्देशन दिएको जनाइएको छ ।
केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा (एमाले)को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन । साथै जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । झुटो प्रचार-प्रसारप्रति नझुक्किनु हुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी प्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’
सोमबार भण्डारीसँग मुख्यमन्त्री हिक्मतकुमार कार्की, मन्त्रीहरू आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईले भेटघाट गरेका छन् ।
एमाले पूर्व उपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले पार्टी सङ्गठित सदस्यका रूपमा मोरङ पार्टी कार्यालय आउनु स्वभाविक भएको नेताहरूले बताएका छन् ।

संगालोखबर 













