
विराटनगर । मोरङको उर्लाबारी-९ बाट कारमा ल्याइँदै गरेको अवस्थामा ठूलो मात्रामा लागूऔषध बरामद भएको छ । लागूऔषध बरामद भएसँगै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार झापाको दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार राति ११ बजेतिर पक्राउ गरेको हो ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको बा ३ च ७९८१ नम्बरको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागूऔषध फेला परेको थियो ।
कारको सीटबाट ग्यालनमा भरेर राखिएको लागूऔषध कोरेक्सजस्तो देखिने वस्तु ५ लिटर र नाइट्रोभेट एक सय ५० ट्याब्लेट बरामद भएको छ । प्रहरीका अनुसार ओझा कार चालक हुन भने दाहाल कारमा सवार थिइन् ।
कारसँगै आएको बा ७८ प ४०९८ नम्बरको मोटरसाइकलमा सवार सेन्दाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू लागूऔषध कारोबारमा संलग्न हुनसक्ने प्रहरीको आशंका छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

संगालोखबर 













