
विराटनगर । विराटनगरको बालसुधार गृहमा झडप भएको छ । आज केहीबेरअघि भएको झडपमा एक जना प्रहरी हबल्दार घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्त सुनुवारले बालसुधार गृहमा झडप भएको पुष्टि गरे । उनले झडपमा प्रहरी पनि घाइते भएको जानकारी दिए ।
‘झडप भएको हो । हामी अहिले यही छौं’, डीएसपी सुनुवारले संगालोखबरसँग भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ । झडपको कारण खुल्न बाँकी छ ।’
अहिले मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
विभिन्न अपराधमा मुछिएर अदालतबाट दोषी ठहर भएका तथा पुर्पक्षका लागि थुनामा पठाइएका बालकहरूलाई सुधार गृहमा राख्ने गरिएको छ ।
अहिले सुधार गृहमा २४९ बाल बिज्याइँकर्ताहरू छन् भने अवस्था शान्त भइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । विराटनगरको बालसुधार गृहमा बेला-बेलामा झडप हुँदै आएको छ ।

संगालोखबर 













