
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले बीएस्सी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ । धनकुटा अस्पताललाई शिक्षण अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले हस्तान्तरण प्रक्रिया सुरुगरेसँगै विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।
विश्वविद्यालयका अनुसार चालु शैक्षिक सत्रदेखी नै बीएस्सी नर्सिङको कक्षा सञ्चालनको तयारी छ । देशका दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरूको समूहले महिनौँ लगाएर सेमेस्टर प्रणालीमा आधारित ४ वर्षे नर्सिङ विषयको पाठ्यक्रम तयार पारेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए ।
उनका अनुसार मनमोहनले चार वर्षे नर्सिङ कोर्षलाई ८ वटा सेमेस्टर प्रणालीमा पठनपाठन गराउनेछ । निर्माण भएको कोर्ष अनुसार बीएस्सी नर्सिङ पढ्ने विद्यार्थीहरूले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा उत्तीर्ण गर्नुपर्नेछ ।
अनुभवी विज्ञहरूले महिनौँ लगाएर निर्माण गरेको पाठ्यक्रम समय सुहाउँदो रहेको कोशी प्रदेश स्वास्थ्य सचिव डा. राधिका थपलियाले बताइन । उनका अनुसार मनमोहनले निर्माण गरेको नयाँ नर्सिङ कोर्षमा बिरामीको हेरचाह मात्र नभएर एउटा सफल नर्सका लागि अनुशासित नेतृत्वको आवश्यकता पर्छ भन्ने कुरामा ध्यान दिइएको छ ।
रजिष्टार डा. दिलनाथ फुँयालका अनुसार मनमोहनले निर्माण गरेको नयाँ बीएस्सी नर्सिङ कोर्ष अनुसार नर्स सेवा पढ्न चाहने पुरुषहरूलाई पनि १५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।
उपकुलपति पोखरेलका अनुसार कोशी सरकारले धनकुटा अस्पतालाई मनमोहनको शिक्षण अस्पताल बनाउने निर्णय गरेर हस्तान्तरण प्रक्रिया पनि सुरु गरिसकेको छ । एक/दुई दिनभित्रै हस्तान्तरण प्रक्रिया पुरा भएपछि मनमोहनले तुरुन्तै बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

संगालोखबर 













