
विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ स्थित सन्देश इङ्लिस स्कुलको गेटमा दुई बसको बीचमा च्यापिएर सहचालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे भएको दुर्घटनामा बेलबारी-४ का ४५ वर्षीय देवी खतिवडाको मृत्यु भएको हो ।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार स्कुलको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न सहचालक खतिवडा डोरी लगाउँदै थिए । सोही क्रममा को १ ज १२६९ नम्बरको बस अचानक पछाडि सरेको थियो । बस पछाडि सर्दा ५२७९ नम्बरको बसका सहचालक खतिवडा च्यापिएका हुन् ।
दुवै बसका चालक केराबारी गाउँपालिका-९ निवासी २५ वर्षीय सरोज ढकाल र बेलबारी नगरपालिका-४ निवासी ४० वर्षीय नवराज खत्रीलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

संगालोखबर 



















