संगालोखबर


विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूले ‘प्रथम एभरेष्ट नमूना संयुक्त राष्ट्रसङ्घको अभ्यास’ कार्यक्रम गर्ने भएका छन् । विद्यार्थीहरूको नेतृत्व  र व्यक्तित्व विकासका लागि साउन २१, २२ र २३ गते कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमको उद्‌घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गर्नेछन् । कार्यक्रम संयोजक इशल भट्टराईका अनुसार तीन दिनसम्म चल्ने नमुना सभामा कक्षा ८ देखि १२ सम्मका दुई सय विद्यार्थी सहभागी हुनेछन् । उनीहरूले विभिन्न देशको प्रतिनिधित्व गर्ने संयोजक भट्टराईले जानकारी दिए ।

Advertisement

उनीहरूलाई विभिन्न ६ वटा साङ्केतिक समितिमा विभाजन गरिनेछ । जसमा संयुक्त राष्ट्रसङ्घको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य सङ्गठन, वातावरण कार्यक्रम, दक्षिण एसियाली छेत्रीय सहयोग सङ्गठन र अन्तर्राष्ट्रिय प्रेस छन् ।

ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड-१९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्त्वका विषयमा छलफल हुने संयोजक भट्टराईले जानकारी दिए ।

नेपाल र भारतका मोडरेटरहरूले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहनेछन् ।

कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय स्तरका समस्या पहिचान र समाधानका लागि विकल्प खोज्न सिकाउने, नेतृत्व, व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कूटनीति र सम्बन्ध बुझ्ने सामर्थ्य बढाउने, समालोचनात्मक चेतको विकास गर्दै सहकार्यको भावना जागृत गराउने लगायतका लक्ष्य राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!