
विराटनगर । मोरङको टंकीसिनवारी जेसिजको आयोजनामा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आगामी भदौ २७ गते विराटनगरमा ‘भिम-अजिता ओराटोरि च्याम्पियनसिप’ हुने भएको हो ।
प्रतियोगितामा देशभर रहेका एक सय ८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमबारे टंकीसिनवारी जेसिजले विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
खुला सहभागितामा हुने यस राष्ट्रिय स्तरको प्रतियोगितामा देशभरका उत्कृष्ट वक्ताहरू एउटै मञ्चमा प्रस्तुत हुने अध्यक्ष अनिष भट्टराईले जानकारी दिए । टंकीसिनवारी जेसिजका संस्थापक भीम घिमिरेले जेसिजले कुनै पनि क्षेत्रमा रहेका व्यक्तिलाई असल नागरिक बनाउने उद्देश्य राखेको बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

संगालोखबर 













