
विराटनगर । नवजात शिशुको हत्या आरोपमा गोग्राहा अदालतमा मुद्दाको बहस भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरूले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन् ।
पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरूले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दाबी गर्छन् । उनीहरूको दाबीमा न्यायाधीशहरूले बेलाबेला प्रश्न गर्छन् । तपाईँहरूको दाबीको तथ्य के हो ? त्यसको जवाफ पैरवी गरिरहेका वकिलहरूले दिने प्रयास गर्छन् ।
वादी-प्रतिवादीको बहस चलिरहँदा न्यायालय पुगेका सरोकारवाला वादी प्रतिवादीका पक्षधर र कानुनका विद्यार्थी स्तब्ध हुन्छन् । फैसला कसको पक्षमा आउला भन्दै सबै जना अनुत्तरित र जिज्ञासु भएर बसेका छन् । बहस ३ घण्टा २० मिनेट चल्छ । जहाँ वादीका तर्फबाट ४ र प्रतिवादीका तर्फबाट ४ जनाले बहस गर्छन् ।
अन्ततः फैसला प्रतिवादीको पक्षमा आउँछ । यो फैसलाले पीडितलाई राहत दिएको हैन कि अभ्यास अदालतमा उत्कृष्ट प्रस्तुति गर्नेका पक्षमा न्याय गरेको हो । विराटनगर उच्च अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की र वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी निर्णायकको भूमिका रहेको मूट कोर्टको नतिजा हो ।
विराटनगर-५ स्थित ब्राइट भिजन ल क्याम्पसले आयोजना गरेको प्रथम मूट कोर्ट प्रतियोगिताको फाइनल स्पर्धामा विभिन्न १८ वटा समूहबाट विभिन्न चरण पार गर्दै आएका दुई समूह थिए । जहाँ उनीहरूले व्यवहारिक रूपमा आफूलाई अब्बल सावित गर्नुपर्ने थियो ।
फाइनल स्पर्धाबाट प्रतिवादीको पक्षमा बहस गर्ने लोकेश धाडेवा, आकृति खनाल, र मनिष सिग्देलको समूहले प्रथम स्थान हासिल गर्दै ‘मेमोरियल पुरस्कार’ प्राप्त गर्यो। द्वितीय अर्थात फस्ट रनर अप को उपाधि वादीको पक्षमा बहस गर्ने रञ्जना घिमिरे, कृतिका भट्टराई, अनुशा आचार्य र अमृता कटवालको समूहले प्राप्त गर्यो ।
यस्तै अविशा निरौला, प्रशान्त ढकाल र आयुषा राई तथा परिष्कृत सापकोटाको समूह तेस्रो भयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए ।
विद्यार्थीहरूमा न्यायिक प्रक्रिया, तर्क गर्ने क्षमता र कानूनको व्यवहारिक ज्ञान दिलाउने लक्ष्य लिएर प्रतियोगिता आयोजना गरिएको ब्राइट भिजन ल क्याम्पसका प्रिन्सिपल तथा कोशी प्रदेशका पूर्व न्यायधिवक्ता चुडामणि आचार्यले बताए ।

संगालोखबर 













