
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट ६० किलो गाँजा बरामद भएको छ । शुक्रबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा राखेर देवानगञ्जबाट कप्तानगञ्जतर्फ गाँजा लगिँदै थियो । प्रहरीलाई देख्नासाथ दुई वटा बोरा फ्याँकेर ओसार-पसारमा संलग्न मानिस मोटरसाइकलसहित फरार भएका डीएसपी खतिवडाले जानकारी दिए ।
मोटरसाइकलको नम्बर पहिचान नभएको प्रहरीको भनाइ छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













