
विराटनगर । कोशी प्रदेशमा धान रोपाइँ घटेको छ । पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २१ प्रतिशत कम रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय विराटनगरको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको छ ।
सोही अवधिमा गतवर्ष ८२.६८ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार समयमा र पर्याप्त वर्षा नभएकै कारण रोपाइँ कम भएको हो ।
निर्देशनालयको तथ्याङ्क अनुसार कोशी प्रदेशको उच्च पहाडमा ५०.४२, मध्य पहाडमा ६४.५५ र तराईमा ६१.७९ प्रतिशत रोपाइँ भएको छ । निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी सोलुखुम्बुमा ८४.३१ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम ताप्लेजुङमा ४३.७३ प्रतिशत रोपाइँ भएको छ ।
यस्तै संखुवासभामा ५०, पाँचथरमा ७५, इलाममा ६१, भोजपुरमा ७२, तेह्रथुममा ४८, धनकुटामा ५३, उदयपुरमा ५३.३७, ओखलढुङ्गामा ७४.२५, खोटाङमा ८१.३०, झापामा ६८.६०, मोरङमा ५० र सुनसरीमा ६८ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार कुल धान खेती हुने दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमध्ये एक लाख ७० हजार सात सय ९० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको हो ।

संगालोखबर 













