
विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ मा बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद हुने भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २२ वर्षीय अनिष सरदारलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अन्तर्गत जन्मकैदको फैसला गरेको हो ।
सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए । घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थामा गत असार १४ गते बिहान आत्तिकाको शव घर नजिकै फेला परेको थियो ।
उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी करणी गरी क्रूर यातना दिएर ज्यान मारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार अभियुक्तले अदालतमा आफू दोषी भएको स्वीकार गरेपछि सजाय सुनाइएको हो ।
सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो । मुद्दामा सोमबार थुनछेक बहस भएको थियो । थुनछेक बहसकै दिन न्यायाधीश सुवेदीको इजलासले अनिषलाई आजीवन कैद सजाय हुने फैसला सुनाएको हो ।

संगालोखबर 













