
विराटनगर । कोशी प्रदेशमा १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले साउन १ गतेबाट १४ वटै जिल्लामा पूर्वाधार कार्यालयहरू स्थापना गरेको हो ।
सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गरेका छन् । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको बताए ।
उनले प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउन र स्थानीयको प्राथमिकताको आवश्यकतालाई मध्यनजर गर्दै सरकारको योजना अनुसार कार्यालय स्थापना गरिएको उनको भनाइ थियो ।
उनले कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नु पर्ने कामहरू असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिए । उनले अब जिल्ला जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको प्रथा पनि अन्त्य उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले सुनसरी जिल्ला आफ्नो गृहजिल्ला नभएपनि त्योभन्दा बढी लगानी गरेको उल्लेख गर्दै प्रदेशकै ठूलो आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टर यसै वर्षबाट सञ्चालनमा आउने बताए ।
त्यसैगरी साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर नौवटा मात्रै कार्यालय थिए । अब सबै जिल्लामा एउटा एउटा गरेर १४ वटा पूर्वाधार कार्यालय हुनेछन् ।

संगालोखबर 













