
विराटनगर । विगतका वर्षहरूमा पनि वर्षा नहुँदा भ्यागुताको बिहे गराएका फोटो तथा भिडिओहरू सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । यो वर्षपनि देशका विभिन्न स्थानमा भएको भ्यागुताको बिहेले चर्चा पायो । लामो समय खडेरी परेपछि पानी पर्ने विश्वासका साथ भ्यागुताको बिहे गरिएको हो ।
सोही विश्वासका साथ आइतबार राति मोरङको सुनवर्षी नगरपालिकाका स्थानीयले पनि भ्यागुताको धुमधामसँग बिहे गरिदिएका छन् । सुनवर्षी-१ जोगीधाप र वडा नम्बर-२ अमरदहका स्थानीयले इन्द्र भगवानलाई खुसी पार्न कुनै कसुर बाँकी नराखी भ्यागुताको बिहे गरिदिएका हुन् ।
भ्यागुता कराएमा इन्द्र भगवानसम्म पानी पार्ने सन्देश पुग्ने र पानी पर्ने धार्मिक जनविश्वास छ । भ्यागुता एक्लै नकराउने र जोडी भएमा मात्रै कराउने भएकाले भाले पोथी खोजेर बिहे गरेपछि उनीहरूले कराएको सन्देश भगवान इन्द्रसम्म पुग्ने जनविश्वास छ ।
सोही जनविश्वास अन्तरगत सुनवर्षी-१ र २ का स्थानीय गिरघरियास्थित शिवालय मन्दिरसम्म ‘नर’ भ्यागुतो लिएर जन्ती गएका थिए । ‘मादा’ भ्यागुतो लिएर बसेका स्थानीयले जन्तीलाई धुमधामका साथ स्वागत गरेका थिए ।
मण्डपसहित पण्डितले विवाहको विधिवत मन्त्रोच्चारण गरेका थिए । उनीहरूले बेहुला भ्यागुताबाट बेहुली भ्यागुतालाई सिन्दुर समेत लगाइदिएका थिए । विधिवत गरिएको भ्यागुताको बिहेमा ७० बढी स्थानीय सहभागि थिए ।
स्थानीयका अनुसार भ्यागुताको बिहे सम्पन्न गर्न करिब १५ हजार रुपैयाँ खर्च भएको छ । वर्षा नहुँदा समयमा रोपाइँ गर्न नपाएको तथा खडेरीले समस्या निम्त्याए पछि पानी पर्ने विश्वासका साथ भ्यागुताको बिहे गरिएको उनीहरू बताउँछन् ।
भिडिओ-

संगालोखबर 













